बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत शुक्रबार १ सय २ जना किसानलाई मिनी टिलर वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत पावर टिलर वितरण गर्नका लागि किसानलाई छनोट गरेको थियो ।
गाउँपालिका कार्यालय परिसर रामपुरमा शुक्रबार औपचारिक कार्यक्रमका बीच मिनी टिलर हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानहरुलाई मिनी टिलर हस्तान्तरण गरे । मिनी टिलर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले आर्थिक समृद्धिका लागि गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताए । देशभर रहेका ७ सय ५३ स्थानीय तह मध्ये यति ठुलो बजेट कृषिमा विनियोजन गर्ने बैजनाथ गाउँपालिका मात्रै भएको उनको दाबी छ ।
‘वार्षिक ६ देखी ७ करोड बजेट छुट्याएर किसानलाई विभिन्न कामहरु, यान्त्रीकरणसँग जोडेका छौं, प्रविधिसँग जोडेका छौं, हामीले तपाईहरुलाई प्रोत्साहन गरेका छौं, यसको प्रतिफल तपाईहरुले दिनुपर्छ,’ उनले भने । जनताले तिरेको करको सही सदुपयोग गरेर गाउँपालिकाले कृषिमा लगानी गरेको अध्यक्ष शाहीले बताए ।

गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत किसानलाई पावर टिलर, मिनी टिलर, घाँस काट्ने मेसिन, पम्पसेट, डेलिभरी पाईप, ई-डेलिभरी रिक्सा, लालटिन मोटर लगायत विभिन्न सामान अनुदानमा वितरण गरेको शाहीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले हरेक आर्थिक वर्षमा किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत किसानलाई कृषि यान्त्रीकरणसहित विभिन्न सामान अनुदानमा वितरण गर्दै आएको छ ।
‘हामीले दिएको सामान प्रयोग गरेर किसानले समयमै खेती गर्न पाउनु भएको छ, उत्पादन गरेको बस्तुलाई बजारमा लगेर बेच्न पाउनु भएको छ, यो नै हाम्रो लागि खुसीको कुरा हो,’ अध्यक्ष शाहीले भने । सो क्रममा कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले अनुदानमा प्राप्त गरेको सामानको सही काममा सदुपयोग गर्न किसानहरुलाई आग्रह गरे । ‘तपाईहरुलाई हाम्रो आग्रह छ, अनुदानमा प्राप्त गरेका यि सामानहरु सदुपयोग गरेर प्रयोग गर्नुहोला,’ उनले भने ‘कृषिमा उन्नती र प्रगति गर्नुस् तपाईहरुलाई हाम्रो शुभकामना छ ।’
मिनी टिलर प्राप्त गरेपछि बैजनाथ-८ टिटिहिरियाका पन्नेलाल थारुले किसानसँग पालिका प्रमुख कार्यक्रमले धेरै किसानहरुलाई अनुदानमा सामाग्री बाँडेर ठुलो राहत दिएको बताए । ‘किसानसँग पालिका प्रमुख कार्यक्रमले हामी जस्ता किसानहरुलाई अनुदानमा सामान दिएर ठुलो गुण लगाएको छ, गाउँपालिकाले हामीलाई सहयोग गर्दा हामीहरुमा पनि उर्जा थपिएको छ,’ उनले भने ।

