नेपालगन्ज : नेपाल-भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगन्जमा ‘क्रस-बोर्डर टुरिज्म कन्क्लेभ’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीन दिने कन्क्लेभमा दुवै देशका पर्यटन व्यवसायी, नीति निर्माता, सुरक्षा निकाय र सरोकारवाला सहभागी छन् ।
कन्क्लेभको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख बिष्टले नेपालगन्ज धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच साझा प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल-भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा विस्तृत छलफल भएको थियो । प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशी, नेपालगन्ज उपमहानगरपालिकाका पूर्वमेयर डा. धवलशम्शेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल सहभागी थिए ।

छलफलमा सहभागीहरूले सीमा क्षेत्रमा देखिने अनावश्यक कडाइ, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटकलाई निरुत्साहित गरिरहेका जस्ता समस्याको समाधानका उपायबारे बहस भएको हो । वक्ताहरूले नेपालगन्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन उदार र व्यवहारिक प्रोटोकल आवश्यक रहेकोमा जोड दिए ।
कन्क्लेभमा भारतीय टुर एण्ड ट्राभल सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतीय पक्षका सहभागीहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न सयझाव दिएका थिए । बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘यी विषयहरू दशकौँदेखि उठिरहेका छन, अब ढिलाइ गर्नु हुँदैन,’ उनले भने, ‘सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ, पर्यटकलाई दुःख दिने हाम्रो उद्देश्य होइन, सरोकारवालासँग बसेर समस्या समाधान गर्छौ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बाँके र नेपालगन्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपाल वेडिङ डेस्टिनेसन र वेलनेस र वाइल्ड-लाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । केही समयअघि पर्यटकले व्यहोर्दै आएको भुक्तानी प्रणालीको झण्झट पनि हाल सहज भइसकेको बताए ।
नाट्टाका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक श्रीराम सिग्देलले नेपालगन्जलाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने बताउँदै दिल्ली-नेपालगन्ज प्रत्यक्ष उडानको प्रस्ताव अघि सारे । सीमापार सहकार्य र निरन्तर संवादमार्फत पर्यटनमा देखिएका अवरोध समाधान गर्न सकिने उनको भनाइ थियो । नेपालगन्जका पूर्वमेयर धवल शम्शेर राणाले सीमाका समस्या सहज बनाउने र नेपालगन्जको वास्तविक पर्यटन सम्भावना उजागर गर्ने दुई मुख्य कार्य अहिलेको आवश्यकता भएको बताए ।
उक्त कार्यक्रममा भारतीय टुर अपरेटर शैलेश अग्रवालले हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिने गरिएको गुनासो गरे भने अर्का टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा शंकास्पद दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे । हान नेपालका केन्द्रीय सदस्य दीवाकर खनालले पशुपतिनाथ-केदारनाथ, जनकपुर–अयोध्या र लुम्बिनी–बोधगया जस्ता सर्किट विकास गर्न सके धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिने बताए । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटन स्वतः विस्तार हुने धारणा व्यक्त गरे ।
करिब ४० जना भारतीय टुर अपरेटरसहित आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएको छ । कार्यक्रममा ‘बी-टु-बी’ सत्र, पर्यटन अनुभव आदान-प्रदान, नीतिगत छलफल, साँस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनलाई चलायमान बनाउन ‘क्रस-बोर्डर टुरिज्म कन्क्लेभ’ प्रभावकारी प्लेटफर्म बनेको बताए ।


सम्बन्धित समाचार पढ्नुस् :
नेपाल-भारत पर्यटन सहकार्य सुदृढको प्रयास, नेपालगन्जमा क्रस बोर्डर टुरिज्म कन्क्लेभ
नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’
नेपालगन्जमा गरिदै ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’, कार्यक्रम सफल पार्न सरोकारवाला एकमत