बाँके(नरैनापुर) : नरैनापुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नमा मिडियाको तर्फबाट सशक्त रुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिवद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा औल्याउँदै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार-प्रसार गर्न सम्भव रहेको बताए ।
नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफु स्थानीय सरकारको नेतृत्वमा आईसकेपछि स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको विकासमा सक्दो काम गर्दै आएको बताए । गाउँपालिकाले सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम लगायत स्थानीय स्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा काम गरेको उनले सुनाए ।
आफ्नो पहलमा केही वर्षअघि कार्यक्रम गरेर सन्तानेश्वर मन्दिरमा एकैदिन हजारौं दर्शनार्थीहरुलाई उतार्न सफल भएको स्मरण गरे । पर्यटन प्रवर्द्धनमा मिडिया र पत्रकारहरुसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको उनले बताए । ‘धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नमा हामीले धेरै कामहरु गरेका छौं,’ शाहले भने ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका र स्थानीय सरकारले गरेको पहल कदम प्रशंसनीय रहेको बताए । गाउँपालिकाले आगामी दिनमा पनि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवर्द्धन सम्बन्धी काम गर्नुपर्ने उनको सुझाव छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र रहेकाले यहाँ घुम्न आउने पर्यटकलाई आनन्दको अनुभुति हुने बताए । ‘अलिकति उकालो लाग्ने हो भने सितल हावापानीको अनुभुति गर्न पाइन्छ, यहाँ जैविक विविधता छ, पर्यटकलाई आर्कषित गर्न सन्तानेश्वर, बर्फानी बाबा आश्रम, पर्यापर्यटन र कृषि पर्यटनको प्रचुर सम्भावना छ,’ उनले भने । नरैनापुरको पर्यटनलाई सञ्चारको मूल प्रवाहमा जोडिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको बताए । नरैनापुरको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण कडी बन्न सक्ने भन्दै गिरीले पर्यटन प्रवर्द्धनको लागि पत्रकार महासंघ बाँकेले गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको उल्लेख गरे । उनले मिडियाको साथले पर्यटकीय क्षेत्रहरुको प्रचार-प्रसार, संरक्षण र सम्बर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष गिरीले नरैनापुर अब दुर्गम नभई सुगम भइसकेको चर्चा गर्दै विकासको राजमार्गमा अघि बढिसकेको बताए ।
उक्त कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक प्रतिवेदन (आधार पत्र) प्रस्तुत गरे । उक्त प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ, चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन्, यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ, यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन ।’
नरैनापुरमा धार्मिक, प्राकृतिक, साँस्कृतिक, ग्रामिण तथा कृषि पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको प्रतिवेदनमा जनाइएको छ । मिडियाले नरैनापुरको पर्यटन प्रवर्द्धनका लागि पर्यटन स्थलको परिचय, सकारात्मक छवि निर्माण, स्थानीय सँस्कृति र पहिचान संरक्षण, डिजिटल माध्यमको प्रयोग, लगानीमा आर्कषण र स्थानीय सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

कार्यक्रमको अन्त्यमा ५ बुँदे नरैनापुर घोषणा-पत्र जारी गरियो । नरैनापुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार-प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो डकुमेन्ट्री बनाएर सहकार्य गर्ने, नजिकै रहेको चुरे पहाडलाई पर्यापर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले पदयात्रा(हाईकिङ) को रुपमा अघि सारेका नीति र योजनाबारे मिडियाको क्षेत्रबाट समाचार लेखेर पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने, नरैनापुर गाउँपालिकाका पर्यटकीय गन्तब्यको प्रवर्द्धन र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरी प्रचार-प्रसार गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ, जिल्लाका मिडिया हाउस र पत्रकारहरुसँग निरन्तर सहकार्य र सहयोग जारी राख्ने लगायत बुँदाहरु रहेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार शंकरप्रसाद खनालले तयार पारेको उक्त घोषणा-पत्रलाई पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले गाउँपालिका अध्यक्ष शाहलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा समेटिएका विषयसहित नरैनापुरको पर्यटन विकासका विषयमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरु कमल खत्री, बैकुण्ठ अधिकारी, चन्द्रेश्वरराज त्रिपाठी लगायतले पनि आफ्नो सुझाव तथा धारणा राखेका थिए ।
उक्त कार्यक्रममा महासंघ बाँकेका साधारण सदस्यहरु, बाँकेमा क्रियाशिल विभिन्न सञ्चार माध्यमा कार्यरत पत्रकारहरु, गाउँपालिकाका कर्मचारी लगायतको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । अन्तरक्रिया र वनभोज कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।