नेपालगन्ज : नेपालगन्जमा यही पुस ३० गतेदेखी ‘आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव’ सञ्चालन हुने भएको छ । नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव सञ्चालन हुन लागेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव हुन लागेको नेपालगन्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अध्यक्ष एवम् महोत्सवका संयोजक समरबहादुर खत्रीले आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको कार्यालय भवन निर्माणका लागि महोत्सव गर्न लागिएको अध्यक्ष खत्रीले बताए । उनका अनुसार उक्त महोत्सवमा २ सय देखि २ सय ५० वटा जति स्टल रहनेछन् ।
महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुको स्टल लगायत मेलाका प्रमुख आकर्षण रहने खत्रीले बताए । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, उर्जा, बायोग्यास लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने महासंघले जनाएको छ ।
महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति कोहलपुर पालिका समिति, खजुरा पालिका समिति, बैजनाथ पालिका समिति, राप्तिसोनारी पालिका समिति, जानकी पालिका समिति, डुडुवा पालिका समिति र नरैनापुर पालिका समितिले सहकार्य गरेको महोत्सवका सह–संयोजक विष्णुप्रसाद खनालले जानकारी दिए ।
स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित बस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए । महोत्सव सञ्चालन अवधिभर स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारले सांगितिक प्रस्तुती दिनेछन् ।
महोत्सव अवधिभर एक लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य रहेको आर्थिक समितिका संयोजक एवम् महासंघका कोषाध्यक्ष हुमाशंकर ओलीले बताएका छन् । ‘महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित त हुने नै छ, महोत्सवले आर्थिक कारोबार र दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन पनि प्रदान हुनेछ,’ उनले दूरसञ्चारसँग भने ।
उक्त महोत्सवले कला, सँस्कृति, भेषभुषा, मौलिक तथा साँस्कृतिक महत्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेशा, सीप लगायतलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुर्याउनुका साथै बाँकेका पर्यटकीय स्थललाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।