नेपालगन्ज : नेपालगन्जमा आयोजना हुन लागेको आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव-२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ।
आयोजक पक्षले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी पूरा भएको जानकारी गराएको छ । उनका अनुसार बुधबार(भोलि) बिहान ११ बजे शोभा यात्रा निकालेर दिउँसो १ बजे उद्घाटन गरिने अध्यक्ष एवम मुल आयोजक समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए ।
उक्त महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विद्या चौधरीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अवसरमा विभिन्न समुदायका झाँकीसहितको सांस्कृतिक र्याली धम्बोझी चोकबाट सुरु भई पुष्पलाल चोक, कारकाँदो चोक हुँदै सडक डिभिजन परिसरमा पुगेर समापन हुनेछ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति जिल्ला शाखा बाँके र नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिकाको सह-आयोजनामा महोत्सव यही पुस ३० गतेदेखि माघ १० गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुनेछ ।
महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै घरेलु तथा साना उद्योगको बजार विस्तार, कृषि र पर्यटन क्षेत्रको विकास तथा उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ। महोत्सवका मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ ।
कार्यक्रममा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, गायक कमल बिसी मालाखे, गायिका सुजना खत्री, गायिका शान्ति श्री परियार, गायक टंक तिमिल्सिना, गायिका प्रीति आले र गायक बुद्दी पंगेनीलगायत दुई दर्जनभन्दा बढी कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुती पनि रहनेछ ।
व्यापारिक तथा मनोरञ्जनात्मक पक्षलाई थप आकर्षक बनाउन लक्की ड्र, जलपरी, फिस टनेल, बाल उद्यानजस्ता विशेष संरचना निर्माण गरिएको छ। महोत्सवमा घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामग्री सहित विभिन्न व्यावसायिक स्टलहरू रहनेछन् ।
महोत्सवमा करिब २ सय स्टल रहने आयोजकले जनाएको छ। महोत्सव प्रवेशका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ। साथै थारु गाउँको निर्माण गरिएको छ, जहाँ आगन्तुकहरूले थारु संस्कृति, परिकार र स्वादको अनुभव लिन सक्नेछन् ।
महोत्सव अवधिभर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ, जसको सुरुवात पुष ४ गतेदेखि हुनेछ । प्रतियोगितामा सहभागिताका लागि निःशुल्क फारमको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।