नेपालगन्ज : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दा बाँकेबासी धेरैमा उत्सुकता जागेको थियो, ‘संघीय सरकारले यहाँका महत्वपूर्ण क्षेत्रलाई समेटेर आवश्यक बजेट विनियोजन गर्ला । तर, बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई निरन्तरता दिने बाहेक अरु कुनै क्षेत्रलाई सम्बोधन गरेको पाइएन् ।
झण्डै दुई दशकदेखि निर्माणाधिन पुरानो आयोजना सिक्टाका लागि भने उनले २ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताए । सिक्टा बाहेक पनि बाँकेमा रहेका अन्य थुप्रै महत्वपूर्ण क्षेत्रलाई संघीय सरकारबाट बजेट विनियोजन हुन आवश्यक थियो । तर, ति क्षेत्र तथा आयोजनालाई संघीय सरकारले प्राथमिकता दिएको पाइएन ।
विगतका सरकारले उच्च प्राथमिकतामा राखेको नौवस्ता औद्योगिक क्षेत्र, नेपालगन्ज विमानस्थल, भेरी अस्पताल, राप्ती खानेपानी आयोजना, बाँके राष्ट्रिय निकुञ्ज लगायत क्षेत्र यसपटक प्राथमिकतामा परेनन् । नौवस्ता औद्योगिक लुम्बिनी प्रदेश स्तरिय संघीय सरकारको ठुलो औद्योगिक क्षेत्र हो ।
यहाँ मानव बस्ती ब्यवस्थापन सहित भौतिक पुर्वाधार निर्माणको काम अगाडी बढाउनुपर्ने देखिन्छ । औद्योगिक क्षेत्र विकास लिमिटेडले गतवर्ष यहाँ केही अतिक्रमित क्षेत्र हटाएर वरिपरी बाटो बिस्तार गरेको थियो । त्यसबाहेक अरु काम रोकिएका छ । यस्तै नेपालगन्ज बिमानस्थल पनि यसपटक सरकारको प्राथमिकतामा परेन ।
विमानस्थलको नयाँ टर्मिनल भवनसहित भौतिक पुर्वाधारको काम गतवर्ष सम्पन्न भएपनि अझै अन्य विस्तारका केही कामहरु बाँकी छन् । नागरिक उडड्यन प्राधिकरणले विमानस्थल बिस्तार सहितका लागि गुरुयोजना नै तयार गरेको छ । नेपालगन्ज–दिल्ली सिधा हवाई उडान योजना अधुरै छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलपछि दोस्रो अति ब्यस्त विमानस्थलमा पर्ने नेपालगन्ज विमानस्थललाई सरकारले बजेटमा सम्बोधन नगर्दा यसक्षेत्रका बासिन्दाहरु आश्चर्य चकित भएका छन् । पश्चिम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याईरहेको भेरी अस्पताललाई पनि बजेटले सम्बोधन गरेन । उक्त अस्पतालको पुरानो भवन भत्काएर हेलिप्याड सहितको नयाँ सुविधा सम्पन्न भवन बनाउनुपर्नेछ ।
अस्पतालले गतवर्षबाट एमडी/एमएस विषय अध्यापन, मृगौला प्रत्यारोपन लगायतका सेवाहरु सुरु गरेको छ । तर, सरकारबाट ठोस योजना र बजेट नपाउँदा आफ्ना सेवाहरु अगाडी बढाउन अस्पताललाई चुनौती छ । गुरुयोजना अनुसार अस्पतालको सम्पूर्ण काम अगाडी बढाउन अर्बौ रुपैयाँ बजेट आवश्यक पर्ने देखिन्छ ।
तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको पालामा सरकारले सुरु गरेको राप्ती खानेपानी आयोजना अहिलेसम्म अधुरै रहेको छ । आयोजनाका लागि पाईप बिछ्याउने लगायतका काम भएपनि बाँकी कामहरु पुरा भएको छैन । आयोजनाका लागि बजेटले सम्बोधन नगरेपछि बाँकी काम कसरी अगाडी बढ्ला भन्ने चिन्ता थपिएको छ । नेपालगन्जमा पछिल्लो समयमा पानीको सतह घट्दो अवस्थामा रहेकाले राप्ती नदीबाट पानी ल्याएर उपभोक्तालाई शुद्ध पानी खुवाउने सरकारको लक्ष्य छ ।
यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि पनि बजेटले सम्बोधन नगरेको पाइएको छ । पछिल्लो समयमा पर्यटकीय गतिविधि सुरु गर्न थालेको निकुञ्जलाई संघीय सरकारले आवश्यक बजेटबाट सम्बोधन गर्नुपर्ने थियो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँके र दाङको बीच खण्डमा करिव ३५ किलोमिटर सडक निमार्ण अपुरो रहेको छ ।
सरकारले बाँकेमा निर्माणाधिन अवस्थामा रहेको उक्त खण्डका लागि ठेक्का टुंगो लगाउनुपर्ने अवस्था छ । तर, अर्थमन्त्री डा. वाग्लेले समग्र (देशभरका लागि) हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । कुनै बेला पश्चिम क्षेत्रकै नेतृत्व गर्ने गरेको बाँके जिल्लालाई अहिले संघीय सरकारले उपेक्षा गरेको यहाँका नागरिक अगुवाले गुनासो गरेका छन् ।
राज्यले ठुलो ठुलो परिमाणमा राजश्व संकलन गर्ने बाँकेलाई बजेटमा उपेक्षा गरिएको उनीहरुको बुझाई छ । बजेटबारे नागरिक स्तरबाट सामाजिक सञ्जालमा विभिन्न टिका, टिप्पणी भईरहेका छन् । नागरिक समाजका अगुवा एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कुनै समयमा पश्चिम नेपालको नेतृत्व गर्ने जिल्लालाई वर्तमान सरकारले बजेटमा प्राथमिकता नदिएको गुनासो गरे ।
‘दुई दशकदेखि निर्माणाधिन रहेको सिक्टा सिँचाइ आयोजनाको काम बाहेक अरु कुनैपनि क्षेत्र प्राथमिकतामा परेनन्,’ उनले भने, ‘नेपालगन्ज पश्चिम नेपालको ब्यापारिक केन्द्र हो, यहाँबाट सरकारले अर्बौ रुपैयाँ राजश्व उठाउँछ, तर विकास बजेट विनियोजन गर्न वर्तमान सरकारले बेवास्ता गर्यो ।’
बाँकेमा सिक्टा सिँचाइ आयोजना बाहेक नौवस्ता औद्योगिक क्षेत्र, नेपालगन्ज विमानस्थल, भेरी अस्पताल लगायत थुप्रै महत्वपूर्ण क्षेत्रहरु संघीय सरकारको प्राथमिकता भन्दा बाहिर परेको उनले बताए । संघीयता कार्यान्वयनमा आएसँगै नेपालगन्ज शहर राज्यको प्राथमिकताबाट क्रमशः टाढिदै गएको यहाँका नागरिक अगुवाको बुझाई छ ।
नेपालगन्जस्थित पर्यटन ब्यवसायीका अगुवा श्रीराम सिग्देलका बिचारमा राजनीतिक पहुँचबाट टाढा हुँदा बाँके जिल्ला हरेक कुरामा उपेक्षित हुदै आएको छ । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘दुई वर्षअघि नेपाल होटल तथा पर्यटन ब्यवस्थापन प्रतिष्ठान(नाथम कलेज) स्थापना भएको झण्डै ३ वर्षपछि फिर्ता भयो, ५ वर्षअघि प्रारम्भ भएको नेपालगन्ज–पोखरा सिधा हवाई उडान यसै महिनाबाट बन्दा भयो, लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवस्था पनि त्यस्तै छ, कता छन् हाम्रा जनप्रतिनिधि, कता छ हाम्रो राजनीतिक नेतृत्व ?’ सरकारले बजेट भाषणमा बाँकेलाई गरिएको उपेक्षाबारे पनि उनी असन्तुष्ट छन् । -नागरिक न्युजबाट