नेपालगन्ज : नेपालगन्जका १७ वर्षीय युवकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा प्रहरीले संलग्न ब्यक्तिलाई पक्राउ नगरेको भन्दै पीडित पक्षले असन्तुष्टी जनाएको छ । पीडितका परिवारले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका-१० निवासी पीडितका बुवा विजयकुमार बैश्यले बुधबार पत्रकार सम्मेलन गरेर घटना भएको लामो समय बितिसक्दा पनि आरोपी पक्राउ नपर्नु दुःखद भएको बताए । सुरुमा प्रहरीले जाहेरी लिन नमानेको र मुद्दा दर्ता भइसकेपछि पनि आरोपी पक्राउ गर्न पर्याप्त चासो नदिएको उनको आरोप छ ।
बैश्यका अनुसार भदौं १३ गते साँझ करिव ६ बजे उनका १७ वर्षीय छोरा स्लोक बैश्य नेपालगन्ज उपमहानगरपालिका–११ मा रहेको मोबाइल पसलमा बसेका थिए । उनी खाना खान गएको समयमा मोटरसाइकलमा आएका आदित्य गुप्ता, अभिनव शाह लगायतको समूहले छोरालाई पसलबाट बाहिर निकालेर कुटपिट गर्नुका साथै खुकुरी प्रहार गरेको बैश्यले बताए ।
घटनामा स्लोक बैश्य गम्भीर घाइते भएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन पुगेपनि प्रहरीले सामान्य चोटपटकको घटना भन्दै ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी लिन नमानेको परिवारको आरोप छ । ‘खुकुरीको प्रहार अझै एक इन्च गहिरो भएको भए मेरो छोराको ज्यान जान सक्थ्यो,’ पत्रकार सम्मेलनमा बैश्यले भने, ‘यस्तो गम्भीर घटना हुँदा पनि प्रहरीले सुरुमा जाहेरी लिन मानेन ।’
प्रहरीले जाहेरी लिन नमानेपछि जिल्ला सरकारी वकिल कार्यालयमा गएर जाहेरी दिएको र त्यसपछि मात्रै प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको उनले बताए । मुद्दा दर्ता भएको समेत एक महिना पुग्न लाग्दा आरोपी पक्राउ नपरेको भन्दै बैश्यले प्रहरीको भूमिका र नियतमाथि प्रश्न उठाएका छन् ।
प्रहरी प्रमुखले आरोपी पक्राउ गर्न निर्देशन दिएपनि मुद्दा फाँटमा रहेका प्रहरीले आवश्यक चासो नदिएको उनको आरोप छ । ‘एक महिनादेखि प्रहरी कार्यालय धाइरहेको छु, अहिलेसम्म न्याय पाउन सकेको छैन,’ उनले भने, ‘घटनामा संलग्नहरू नेपालगन्जमै घुमिरहेको प्रहरीलाई थाहा छ, तर उनीहरूलाई पक्राउ गरिएको छैन ।’ खुकुरी प्रहारजस्तो गम्भीर घटनाका आरोपी पक्राउ नपर्नु चिन्ताको विषय भएको भन्दै बैश्यले संलग्न ब्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी प्रतीत सिंह राठौरले घटनासम्बन्धी मुद्दा दर्ता भइसकेको बताए । उनका अनुसार आरोपीविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ । उनले भने, ‘मुद्दा दर्ता भइसकेको छ, पक्राउ पुर्जी पनि जारी भएको छ,’ राठौरले भने, ‘आरोपीको खोजतलास तीब्र बनाएका छौँ ।’