कोहलपुर : गत भदौ १० गते रसुवामा गएको बाढीबाट प्रभावितको राहतका लागि कोहलपुर नगरपालिकाले २० लाख ८२ हजार ३४७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार कर्मचारीबाट १८ लाख ९३ हजार ८५४ रुपैयाँ र जनप्रतिनिधिबाट १ लाख ८८ हजार ४९३ रुपैयाँ गरी कुल २० लाख ८२ हजार ३४७ रुपैयाँ कोषमा जम्मा गरिएको हो । नेपाल सरकारको विपद् राहत तथा उद्धारसम्बन्धी निर्णयअनुसार कोहलपुर नगरपालिकाका स्थायी, अस्थायी तथा करार कर्मचारीको नेपाल सरकारले तोकेको अवधिको पारिश्रमिक बराबरको रकम योगदानस्वरुप कट्टा गरी कोषमा जम्मा गरिएको गिरीले बताए ।
त्यस्तै, कोहलपुर नगरपालिकाको भदौ १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिबाट समेत राहत कोषमा सहयोग गर्ने निर्णय गरेको थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार वडा सदस्यबाट तीन दिन, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबाट पाँच दिन र नगर प्रमुख तथा उपप्रमुखबाट सात दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गरिएको हो ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट योगदान गरेका हुन्।
कांग्रेस जनप्रतिनिधिबाट ३ लाख बढी सहयोग
बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको विपद् व्यवस्थापन कोषमा ३ लाख २ हजार ३४८ रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते रसुवामा गएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ उक्त रकम जम्मा गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बाढी प्रभावितहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा एकमुष्ट सहयोग गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कोहलपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट रकम कट्टा गरी पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन् । कांग्रेस कोहलपुर नगर सभापति तथा वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले जनप्रतिनिधिहरुले उक्त रकम सहयोग गरेको जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले १० दिन बराबरको पारिश्रमिक विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन् । बाढीबाट प्रभावित नागरिकहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट रकम छुट्याएर सहयोग गरेको शाहले बताए।