नेपालगन्ज : राजश्व अनुसन्धानका कर्मचारीले बद्नियत पुर्वक तर्साउने काम गरेको नेपालगन्जका उद्योगी, ब्यवसायीले गुनासो पोखेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बुधबार राजश्व अनुसन्धान विभाग र ब्यवसायीबीच अन्तरक्रिया राखेको थियो ।
त्यहाँ उपस्थित भएका प्रायःजसो ब्यापारीले राजश्व अनुसन्धान विभागमाथी असन्तुष्टी पोखे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले राजश्व अनुसन्धान कार्यालयबाट आफुहरु पीडित भइरहेको बताए । अनेक निहुँ बनाएर ब्यापारीलाई पीडा दिने काम भइरहेको उनको गुनासो छ ।
उनले भने, ‘गलत काम गर्ने ब्यापारीको पक्षमा हामी छैनौं, तर सानातिना त्रुटीका कारण ब्यापारीले दुःख पाइरहेका छन्, हामी पीडामा छौं, ।’ राजश्व अनुसन्धान विभागले कतिपय अवस्थामा ब्यवहारिक पक्षलाई पनि हेर्नुपर्ने अध्यक्ष मन्सुरीले आग्रह गरेका थिए ।
त्यस क्रममा बोल्ने अधिकांस उद्योगी, ब्यवसायीले राजश्व अनुसन्धान कार्यालयबाट फोन आउने बित्तिकै तर्सिनुपर्ने अवस्था रहेको बताए । सो क्रममा संघका प्रवक्ता टंकबहादुर धामी, नेपाल जडिबुटी ब्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, अग्रज ब्यसायी दिपेन्द्र बिष्ट, जि.आर भुसाल, सुदिप कौसल, रविन्द्रनाथ शुक्ला, मिन न्यौपाने, राधा झाँ, युवराज ढकाल, बुद्धि बिश्वकर्मा लगायतले विभागका अधिकारी समक्ष गुनासो पोखेका थिए ।
भिडियो रिपोर्ट हेर्नुस् :
ब्यापारीको गुनासो सुनिसकेपछि विभागका महानिर्देशक झलकराम अधिकारीले कतै कमजोरी रहेको बलियो आधार फेला पारेपछि मात्र विभागले प्रक्रिया पुर्याएर छापा मार्ने बताए । तर, ब्यापारीको पसल तथा गोदाममा राजश्वका कर्मचारीले मनपरी रुपमा छापा हान्न नपाउने उनले प्रष्ट्याए ।
‘कतैबाट हामीलाई सूचना आयो भने हामी सूचनाको विश्लेषण गर्छौ, महानिर्देशकको लिखित स्वीकृती कुनैपनि कर्मचारी ब्यवसायीको घरमा पस्न पाउँदैन,’ अधिकारीले भने ‘कसैले तपाईलाई अनावश्यक रुपमा फोन गरेर टर्चर गर्छ र सताउन खोज्छ भने मलाई खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर्छु ।’
बाँकेको कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयले केही समयअघि नेपालगन्जस्थित एक ब्यापारीको पसलमा छापा हान्ने क्रममा विवाद बढ्दा कर्मचारी र ब्यापारीबीच हात हालाहाल समेत भएको थियो ।
कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंकबहादुर धामीसहित केही ब्यापारीलाई प्रहरीले पक्राउ गरी छाडेको थियो । उक्त घटना पश्चात बाँकेमा ब्यापारी र राजश्व अनुसन्धान विभागबीच द्धन्द्ध उत्पन्न भएपछि विभागका उच्च अधिकारी नेपालगन्ज आएर सहजीकरण गरेका हुन् । उक्त कार्यक्रम सञ्चालन संघका महासचिव चिरञ्जिवी ओलीले गरेका थिए ।