नेपालगन्ज : सयौं भिडका बीच समुद्रको दल दलमा डुब्न थालेको मान्छे जसरी छटपटाउँछ । त्यसैगरी अहिले नागरिक आर्थिक अभावले छ्ट्पटाउन थालेका छन् । जसरी समुद्रमा टाइटनिक जहाज डुबेको थियोे । लाग्छ, त्यसैगरी आर्थिक संकटको भयावह अवस्थामा देश डुब्दैछ । ब्यापार घाटा दिनानु दिन आकाशिदै छ ।
महंगीले डाँडो काट्दैछ । अभावले कुन दिन पाताल छुने हो, कसैलाई अत्तोपत्तो छैन । निर्यात पटक्कै छैन । उत्पादन करिव करिव छैन । आयातले देश कंगाल भइरहेको छ । पैसाको अभावमा बजार काकाकुल झै तड्पिरहेको छ । ठुला ठुला उद्योगहरुको अवस्था दयनीय हुँदैछ भने साना तथा मझौला उद्योग बन्द अवस्थामा छन् ।
केही बाहेक अधिकांश ठुला उद्योगपति देखि सामान्य ब्यापारी सम्म पैसाको अभाव र उच्च बैंक ब्याजदरबाट छटपटी रहेका छ्न । अर्थतन्त्रको डरलाग्दो परिदृश्यबाट वित्तीय संस्थाहरू समेत संकटमा पर्दै गएका छन् । हजारौं कम्पनीले आफ्ना कर्मचारीलाई नियमित तलब समेत खुवाउन नसकी रहेको समाचार निरन्तर आइरहेका छन् ।
हिजोआज कोही कसैले म सँग पैसा छ, भनेको सुन्न समेत पाइदैन । उद्योगी/ब्यापारी भन्छन् लगानी छैन । बैंक भन्छन्, कर्जा दिने पैसा छैन । ऋणी भन्छन्, कर्जा तिर्ने पैसा छैन । सहकारी भन्छ बचतकर्तालाई भुक्तानी गर्ने पैसा छैन । त्यसो भए कहाँ गयो पैसा ?
कसैले लुकायो कि हरायो पैसा ? आखिर कहाँ गयो पैसा ? सरकारले किन यो बिषयमा आफुलाई गम्भिर बनाउन सकिरहेको छैन ? यत्रतत्र सर्बत्र जताततै जनता काकाकुल हुने गरी पैसाको अभावमा छटपटी रहेको बेला किन सरकार मुखदर्शक भएर खाली सत्ताको अंशवण्डामा मात्र गम्भिर देखिन्छ ?
बजार नै पैसाको अभावमा काकाकुल भएपछि अहिले हरेक कारोबारमा मन्दिर शिखर काटेको छ । हरेक दिन अति ब्यस्त हुने बजार क्षेत्रमा समेत घट्दो ब्यापारका कारण सटरहरु खाली हुँदै गएका दृश्य बढीरहेका छन् । अर्थशात्र अनुसार बजारमा घुमिरहने हराएको पैसाका बारेमा अब खोजी गर्न ढिला सुस्ती सरकारले गर्न हुदैन ।
यदी यो महासंकटको बिषयलाई गम्भिरताका साथ सरकारले नलिने हो, भने हराएको पैसा लुकाउन सरकारले बल पुर्याएको ठानिनेछ । होईन, भने पैसाको यथार्थ जानकारी सार्बजनिक गर्दै समस्याको समाधानतर्फ सरकार जुट्न कत्ति पनि ढिलो गर्नु हुँदैन ।
अर्थशास्त्रको नियम अनुसार बजारमा घुम्ने पैसा विशेष गरि अमुख ब्यापारी अनि मुख्य नेताहरुले नै विदेशमा या स्वदेशमै लुकाएको हुन्छ ? अर्काे ब्यापार घाटा अत्याधिक हुनु पनि होला । आयातको अगाडी निर्यातको करिव/करिव शून्य हुँदा अर्थतन्त्रको यो हालत हुनसक्छ ।
अनुत्पादक क्षेत्रमा लगानीको कारण पनि हुन सक्दछ । बार्षिक १६/१७ खर्बको आयात गरेर देशलाई समृद्ध होईन, कंगाल बनाउने खेल नै अहिलेको मुख्य चुनौती हो ।
जुन देशको बार्षिक बजेट १५ खर्ब हुन्छ, जहाँ बजेटभन्दा बढी आयात गरिन्छ, अनि अर्थतन्त्र संकटमा नपरे के हुन्छ सरकार ? देशलाई टाट बनाउने संघिय राज्य प्रणाली पनि हो । देशको अवस्था हेरेर शासन पद्धति लागू गर्न जरुरी छ ।
अनावश्यक खर्चिलो राज्य प्रणालीले देश समृद्ध बन्दैन । आर्थिक अवस्था करिव/करिव कंगाल उन्मुख हुँदै गरेको नेपालमा सुन, महँगा गाडी अनि मोबाईल लगायतका महँंगा बिलासिताका बस्तुमाथी सरकारले नियन्त्रण मुखी नीति लागु गर्न आवश्यक भई सक्यो ।
अब जे, जस्तोसुकै भएपनि पैसा खोजेर सरकारले सत्यतथ्य अवस्था सार्वजनिक गर्नै पर्दछ र संकटमा पर्दै गएको अर्थतन्त्रलाई सुदृढ बनाउने उपायको खोजी गर्नैपर्छ । अन्यथा, यस्तै ताल हो भने देश श्रीलंका बन्नेमा कुनै दुविधा नराख्दा हुन्छ । ढांटेर, छलछाम गरेर लामो समय जनतालाई भ्रमित बनाउन सकिने यो युग होईन । जिम्मेवार नेतृत्व गण गम्भिर बन्नुस् भन्ने मेरो आशय हो । सबैलाई चेतना भया ! (लेखक दूरसञ्चार डटकमका प्रधान सम्पादक हुन् )