नेपालगन्ज : जननायक विपी कोइराला भन्नुहुन्थ्यो, ‘दुरदराजका ओझेल बस्तीमा रहेका अबोध किसानहरुको दिनचर्यालाई नियालेर नीति तथा कार्यक्रम बनाउनु होस् । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी भन्नुहुन्थ्यो, ‘मुलुकको बजेट बनाउँदा गाउँको गरिब जनताको झुपडीलाई हेरेर बनाउनु होस् ।' हामीसँग समुन्नत नेपाल बनाउने थुप्रै सम्भावना छन् ।
प्रकृतीले दिएका ती सम्भावनाको फेहरिस्त सुनाउन थालेको पनि दशकौं भईसकेको छ । समृद्ध नेपाल बनाउने असिमित सम्भावना मध्ये जल, जमिन, जडिबुटी, जंगल अनि जवानी यि पाँच वटा ‘ज’ लाई मात्र भरपुर मात्रामा सदुपयोग गर्ने नीति सहितको इच्छाशक्ति राज्य सञ्चालनको हुने हो भने नेपालको अर्थतन्त्रमा कायापलट आउन सक्दछ । तर, संघीय लोकतान्त्रिक गणतन्त्रको यो मुलुकमा आज तीन तहका सरकारले समृद्ध नेपाल बनाउन सकिने यि महत्वपूर्ण सम्भावनालाई बेवास्ता गर्दै पुर्बाधारमा मात्र राज्यको ढुकुटी खर्चिने काम गरिरहेका छन् ।
अनावश्यक ठुला ठुला हवाई मैदान अनि चौडा बाटा र सुबिधा सम्पन्न आलिसान भवनलाई मात्र विकास देख्ने मानसिकताका कारण मुलुकलाई समृद्ध बनाउन सकिने पाँच वटा ‘ज’ लाई ओझेलमा पारिएको छ । संघले सडक, प्रदेशले पनि सडक र स्थानीयले पनि सडकमै बजेट अत्याधिक मात्रामा खर्चिने यो कस्तो संघिय राज्य प्रणाली हो ? त्यति मात्र होइन सबै तहका सरकारले अनुत्पादक क्षेत्रमै बढी बजेट खर्चिने पद्धतिको विकास निरन्तर गरिरहेका छन् ।
अनुत्पादक क्षेत्रमा ज्यादा बजेट खर्चिएर उत्पादनको क्षेत्रलाई बेवास्ता गर्ने कार्यब्यवस्थाबाट मुलुक आत्मनिर्भर हुन सक्दैन । आत्मनिर्भर हुन नसक्ने मुलुकको आर्थिक भविष्य उज्यालो किमार्थ हुन सक्दैन भन्ने कुरा राज्य सञ्चालन गर्नेहरुले बुझेर पनि बुझ पचाउनु लज्जाको बिषय होइनर ? उत्पादक क्षेत्रलाई त्यति महत्व नदिएर लोकप्रिय बन्नका निम्ति अत्यन्तै महत्वाकांक्षी बजेट ल्याउने होडबाजी केन्द्रदेखि स्थानीय तह सम्मका सरकारले गर्दै आउँदा जनजीवनको अवस्था उकालो लाग्नु भन्दा दिन दिनै ओरालो लाग्दैछ ।
क्षणिक हाइहाइ बटुल्न पपुलर महत्वकांक्षी बजेट ल्याउने तर कार्यान्वयनमा असफलता नै असफलता हात लाग्ने अवस्थामा निरन्तर आईरहेको छ । संसारका बजेटहरुको सैद्धान्तिक रटान गरेर हाम्रो भूगोल यहाँको यथार्थ बस्तु स्थितीको बर्खिलाप हुने गरि अधिकांश सरकारले विगतमा बजेट ल्याउँदा सोचे जति उपलब्धि हासिल गर्न सकिएन ।
नेपालको यथार्थ धरातललाई टेकेर सबै तहका सरकारले बजेट ल्याउन जरुरी छ । आज ३२÷३३ बर्षदेखि नेपाललाई समृद्ध बनाउने प्रचुर सम्भावनालाई गफ गर्ने मुख्य बिषय बस्तु बनाइरहने, तर कार्यान्वयन गर्न नसक्ने नेतृत्व र खबरदारी गर्न नसक्ने नागरिक समाजका अगुवाहरू कै कारण मुलुकले फड्को मार्न नसकेकै हो । ब्यवस्था बदलियो, तर जनता र मुलुकको अवस्था बदलिएन भन्ने कुरा प्रति नेतृत्व तह गम्भीर बन्न नसक्दाको परिणामको पीडा यति बेला आम नेपालीले भोगिरहेका छन् ।
जनता र भुगोलको अवस्थामा रुपान्तरण ल्याउने हो भने उत्पादनलाई विशेष प्राथमिकता दिएर हाम्रो यथार्थ धरातललाई आत्मासाथ गर्दै पाँच ‘ज’ लाई उच्च महत्व दिदै सबै तहका सरकारले बजेट ल्याउन सकेमात्र नवीन अनि रुपान्तरित समुन्नत मुलुक बन्न सक्दछ ।