नेपालगन्ज : ‘ट्राफिक लाइट’ जडान गर्ने नाममा नेपालगन्जको सुर्खेतरोड सडक ध्वस्त पार्न थालिएको छ । सडकलाई जथाभावी रुपले भत्काउन थालेपछि नागरिक स्तरबाट बिरोध भएको छ ।
सडक विभागले सुर्खेत रोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट जडान गर्नका लागि जमिन मुनि तार बिछ्याउने भन्दै धमाधम भत्काउन सुरु गरेको हो । भर्खरै मात्र सडक डिभिजन कार्यालयले सुर्खेत रोड अन्तरगत जमुनाहादेखी राँझासम्मको खण्डमा ‘अस्फाल्ट’ प्रविधियुक्त सडक कालोपत्रे गरिएको थियो । सोही योजना अन्तरगत राँझा-कोहलपुर खण्डमा अहिले पनि निर्माण कार्य चलिरहेको छ ।
नेपालगन्ज-कोहलपुर खण्डमा कालोपत्रे सम्पन्न गर्न नपाउँदै अहिले भत्काउन थाल्दा नागरिक स्तरमा अन्यौलता छाएको छ । कालोपत्रे सुर्खेत रोडमा सडक कालोपत्रे र ट्राफिक लाइट जडान गराउँदा सडक विभागले समन्वय नगरेकै कारण राज्यले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ ।
![NPJ Sadak Photo 81686539040.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 81686539040.jpg)
जबकी सडक विभागले चालु आर्थिक वर्ष २०७९/८० भित्र काम सम्पन्न गर्ने भन्दै ट्राफिक लाइट जडान र कालोपत्रे गर्ने प्रक्रियालाई सँगै अगाडी बढाएको थियो । सडक विभागका कर्मचारीको समन्वय अभावका कारण कालोपत्रे लगत्तै ट्राफिक लाइट जडानको काम सुरु हुँदा सडकलाई क्षति पुगेको र त्यसले राज्यलाई नोक्सानी पुर्याएको बताइन्छ ।
ट्राफिक लाइट जडान गर्नका लागि सडक विभागले नेपालगन्जको गणेशमान चोकमा एक्साभेटर लगाएर धमाधम खनिरहेको छ । त्यसपछि यसरी नै क्रमशः विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा सडक खन्ने योजना छ ।
भिडियो हेर्नुस् :
स्थानीयका अनुसार गणेशमान चोक क्षेत्रमा एक्साभेटर चलाउँदा कालोपत्रे सडक ‘ध्वस्त’ भएको छ । जताततै खल्डा खुल्डी मात्रै छन् । वर्षा हुने वित्तिकै सडक हिलाम्य हुने देखिन्छ । यसले गर्दा सवारी आवागमनमा समेत अप्ठ्यारो भइरहेको छ ।
भर्खरै सम्पन्न गरिएको अस्फाल्ट प्रविधिको कालोपत्रे सडक जथाभावी भत्काइएकोमा नेपालगन्जका नागरिकहरु आक्रोशित भएका छन् । गणेशमान चोक क्षेत्रमा पैदल हिडिरहेका बाँके, बेलभार निवासी विजयकुमार रैदासले नेपालको विकास प्रणालीलाई आफुले बुझ्नै नसकेको बताए ।
‘पन्ध्र दिनअघि सम्म यो ठाउँ पिच भइरहेको देखिन्थ्यो, अहिले यही सडकलाई डोजर लगाएर भत्काउने काम भइरहेको छ, नेपालको विकास के हो मैले बुझ्न सकेको छैन,’ उनले आक्रोश पोख्दै भने ‘यदी बाटो खन्नु नै थियो भने १५ दिन अघि राज्यको त्यत्रो बजेट खर्च गरेर कालोपत्रे किन गरेको त ?’ कर्मचारीकै मिलेमतोमा राज्यको स्रोत दुरुपयोग भएको रैदास बताउँछन् ।
![NPJ Sadak Photo 31686539033.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 31686539033.jpg)
विकासका नाममा सुर्खेतरोड खनेको विषयले यतिबेला सामाजिक सञ्जाल बेस्सरी तातेको छ । नेपालगन्जका नागरिक अगुवा मिनबहादुर मल्ल भन्छन्, ‘यो भत्काउन र निर्माण गर्न प्रयोग भएको बजेट राज्य स्रोतको दुरुपयोग होईन ?’ सडक विभागले दुई वटा योजनालाई अगाडी बढाउँदा समन्वय नगरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको उनको ठम्याई छ ।
सामाजिक अभियन्ता एवम् पर्यटन ब्यवसायी श्रीराम सिग्देलले नेपालगन्जमा विगत देखी नै एउटा पक्षले सडक बनाउने र अर्को पक्षले तत्कालै भत्काउने प्रवृत्ति कायम रहेको बताए । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘बिडम्बना यही छ, मैले पटक-पटक भन्ने गरेको छु ,गुरुयोजना ल्याउनुस् अनि काम अघि बढाउनुस्, हिजो कालोपत्रे गर्नुअघि पनि बोलेको थिए, अझै पनि भन्छु ,यो चलिरन्छ सुन्दैन कसैले बोल्दैन कोही ।’
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनबाट नै ट्राफिक लाइट जडान हुन लागेको बताउँदै सुरुमा आफु पन्छिने प्रयास गरे । ट्राफिक लाइट जडान सम्बन्धि योजना र विनियोजित बजेटबारे आफुलाई केही थाहा नभएको उनले प्रतिक्रिया दिए ।
‘यो काम हामीले भन्दापनि माथी (विभाग)बाटै ठेक्का भएर सुरु गरिएको हो, भर्खरै सडकको केही भाग खनेर केवल बिछ्याउने काम सुरु भएको छ,’ टेलिफोनमा उनले भने । आगामी असार मसान्तभित्र नेपालगन्जका पाँच ठाउँमा ट्राफिक लाइट जडानको काम सम्पन्न गर्ने सडक विभागको योजना छ ।
![NPJ Sadak Photo 21686539030.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 21686539030.jpg)
![NPJ Sadak Photo 61686539035.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 61686539035.jpg)
![NPJ Sadak Photo 41686539033.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 41686539033.jpg)
![NPJ Sadak Photo 71686539040.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 71686539040.jpg)
![NPJ Sadak Photo 81686539040.jpg](https://www.dursanchar.com/uploads/posts/NPJ Sadak Photo 81686539040.jpg)