बाँके (बैजनाथ) : कुनैपनि बिद्यालयमा कार्यरत शिक्षक अचानक लामो समयसम्म बिदामा बस्नु पर्दा बिद्यार्थीको पढाईमा प्रत्यक्ष प्रभाव पर्छ । बिदामा बस्दा शिक्षकलाई त राहत होला, तर बिद्यार्थीले भने ठुलै घाटा ब्यहोर्नुपर्ने हुन्छ । शिक्षक बिदामा बस्दा बिद्यार्थीलाई असर नपुर्याउन बैजनाथ गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि आर्थिक वर्ष २०८२/०८३ बाट स्वयंसेवक शिक्षक राखेको छ ।
शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालका अनुसार शिक्षकहरु लामो समय बिदामा बसेर बिद्यार्थीको पठन पाठन प्रभावित हुने कुरालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वयं सेवक शिक्षकको अवधारणा ल्याएको हो । ‘यो एकदमै नयाँ अभ्यास हो, गाउँपालिकाले शिक्षक नियुक्त गरिसकेपछि स्वयंसेवक शिक्षकहरूलाई आवश्यकता अनुसार विद्यालयमा खटाउने काम गरिन्छ,’ उनले भने ।
शैक्षिक अवस्थामा सुधार ल्याउन गाउँपालिकाले गरेको यस्तो कार्य सह्रानिय रहेको अभिभावक बताउँछन् । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई प्रोत्साह गर्न शैक्षिक शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । छात्रालाई बिद्यालयमा आर्कषण गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रम अन्तर्गत सम्बन्धित कलेजको बैंक खातामा गाउँपालिकाले सिधैं रकम पठाउने गरेको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट अनुदानका शिक्षक ब्यवस्थापनलाई निरन्तरता दिएको छ । यसले शिक्षाको गुणस्तरमा राम्रो प्रभाव पारेको अभिभावक बताउँछन् ।
शिक्षा क्षेत्रका लागि गाउँपालिकाले गरेका कामहरु मध्ये यि त केही प्रतिनिधिमूलक मात्रै हुन् । आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले शिक्षा क्षेत्रका लागि थुप्रै कामहरु गरेको छ । गाउँपालिकाले उक्त आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ४ करोड ४५ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले उक्त आर्थिक वर्षमा सबैभन्दा बढी १ करोड ७ लाख रुपैयाँ बिद्यालय सहयोगी, कर्मचारी र बाल बिकास शिक्षकको तलब भत्तामा खर्च गरेको छ । यस्तै १ करोड रुपैयाँ माध्यामिक तथा आधारभुत तह शिक्षकको पोशाक भत्तासहित अनुदानमा खर्च गरेको छ ।
यसैगरी ७५ लाख रुपैयाँमा पोशाक भत्ता सहित माध्यामिक तथा आधारभुत तहका शिक्षकलाई अनुदान दिइएको छ । त्यस्तै २० लाख रुपैयाँको लागतमा कक्षा ११ र १२ मा गाउँपालिकाभित्र सञ्चालन भएका सामुदायिक बिद्यालयका छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति तथा विपन्न अल्पसंख्यक र सिमान्तकृतलाई पूर्ण निःशुल्क कार्यक्रम सञ्चालन गरिएको छ । त्यसैगरी ५० लाख रुपैयाँको लागतमा सामुदायिक बिद्यालय भवनहरुमा रंग रोगन गरिएको छ ।
गाउँपालिकाले १५ लाख रुपैयाँको लागतमा बिद्यालय सञ्चालन र ब्यवस्थापनमा अनुदान दिएको छ । यस्तै १० लाख रुपैयाँको लागतमा ग्रेटबृद्धि समेत गरी आधारभुत तह कक्षा ८ को परिक्षा सञ्चालन तथा व्यबस्थापन, ९ लाख २५ हजार रुपैयाँको लागतमा सामुदायिक बिद्यालयमा फुलबारी तथा करेसाबारी निर्माण गरेको छ ।
यस्तै ८ लाख रुपैयाँको लागतमा स्थानीय पुस्तक लेखन तथा कार्यान्वयन, ६ लाख रुपैयाँको लागतमा बिद्यालयमा आवश्यकताको आधारमा फर्निचर वितरण गरिएको छ । गाउँपालिकाले ५ लाख ५० हजार रुपैयाँको लागतमा बिद्यालयमा पिटी सञ्चालन, ५ लाख रुपैयाँका दरले बिद्यालय ब्यवस्थापन खर्च, बिद्यालय सहयोगी, कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता ब्यवस्थापन गरेको छ । यसैगरी ४ लाख रुपैयाँको लागतमा द्धन्द्ध पीडित दलित बेपत्ता पारिएका घाइते जनजाती परिवारका छात्रालाई उच्च शिक्षा छात्रवृत्ति, ३ लाख रुपैयाँका दरले निरन्तर बिद्यार्थी मुल्यांकन पुस्तिका छपाई, स्वयं सेवक शिक्षक समेत गरी शिक्षक बैठक ब्यवस्थापन, टुहुरा असहाय अतिविपन्न बालबालिकाका लागि छात्रवृत्ति बैंक र आधारभुत तह कक्षा ५ को परिक्षा सञ्चालन तथा ब्यवस्थापन गरिएको छ । गाउँपालिकाले २ लाख ४० हजार रुपैयाँको लागतमा वडा शिक्षा समिति ब्यवस्थापन खर्च र २ लाख रुपैयाँको लागतमा एसइई र कक्षा ८ को परिक्षा मोनिटर कोठा मर्मत तथा व्यबस्थापन गरेको छ ।
यसैगरी १ लाख ५० हजार रुपैयाँको लागतमा गाउँ शिक्षा समितिको बैठक ब्यवस्थापन तथा १ लाख रुपैयाँका दरले बिद्यार्थी अभिलेख सहितको हाजिरी र बिद्यार्थी व्यक्तिगत अभिलेख फाराम छपाई, ईएमआईएस र सिआईपी तालिम, उत्कृष्ट शिक्षक र बिद्यार्थी सम्मान, गाउँ शिक्षा योजना अध्यावधिक गरिएको छ । यस्तै १ लाख रुपैयाँका दरले प्रधानाध्यापक बैठक व्यबस्थापन, बिद्यालय अनुगमन तथा सुपरिवेक्षण, बिद्यालय समायोजन तह मिलान तथा दरबन्दी मिलान ब्यवस्थापन र शैक्षिक क्यालेन्डर बुलेटिन निकालिएको छ ।
शिक्षा शाखा प्रमुख ढकालले आर्थिक वर्ष २०८२/०८३ मा नियमित प्रशासनिक काम बाहेक शिक्षा क्षेत्रका लागि राम्रा अभ्यासहरु गरिएको बताए । उनका अनुसार प्रावि, आधारभुत र मावि तहका लागि २४ जना शिक्षकलाई प्रधानाध्यापक बनाइएको छ । गाउँपालिकाभित्र रहेका बिद्यालयमा एक बिद्यालय, एक फुलबारी अन्तर्गत फुलबारी बनाइएको छ । ‘माध्यामिक तहका बिद्यालयमा स्मार्ट बोर्ड लगाइएको छ ।
गाउँपालिकामा योग्यता पुगेका शिक्षकलाई विषय विज्ञको रुपमा छनोट गरिएको छ, प्रश्न बैंक निर्माण गरी परिक्षालाई निश्पक्ष र पारदर्शी बनाइएको छ, अनाथ, टुहुरा बालबालिकाको लागि छात्रवृत्ति बैंक सञ्चालन गरेका छौं,’ उनले भने, ‘हामीले ६ वटा कार्यविधि बनायौं, कक्षा १ देखी ७ सम्म स्थानीय पाठ्यक्रम हाम्रो बैजनाथ लगभग तयारको अन्तिम अवस्थामा छ, बिद्यालय सञ्चालन तथा ब्यवस्थापन खर्च यो वर्ष बढाएर ५० प्रतिशत बढाएको अवस्था छ ।’
शिक्षक दरबन्दी संख्या कम भएको अवस्थामा उक्त आर्थिक वर्षमा १३ जना जति शिक्षकहरुको दरबन्दी सिर्जना गरिएको शिक्षा शाखाले जनाएको छ । बिद्यालयमा अनिवार्य राष्ट्रिय झण्डाका साथै बिद्यार्थी र शिक्षकहरुमा अनिवार्य पोशाक लगाउनुपर्ने ब्यवस्था गरिएको छ । शाखाको अग्रसरतामा संस्थागत बिद्यालयमा शिक्षकको पारिश्रमिक न्यूनतम १९ हजार ५ सय रुपैयाँ अनिवार्य गराइएको छ ।
‘हरेक सामुदायिक बिद्यालयले शुक्रबार अतिरिक्त क्रियाकलाप गराउनुपर्ने वा अपरान्ह ४ बजेसम्म पठन पाठन सञ्चालन गर्नुपर्ने ब्यवस्था मिलाएका छौं, यस्तै यसअघि कक्षा १ देखी ७ सम्मको परिक्षा स्कुलले लिन्थ्ये, गतवर्षबाट पालिका स्तरिय परीक्षा गराउने अभ्यास गरिएको छ,’ शाखा प्रमुख ढकालले भने, ‘शैक्षिक गुणस्तर खस्किएको ठाउँमा विशेष अभियान थालिएको छ, अभिभावक र शिक्षकसँग बसेर अध्ययन, अनुसन्धान गरेर विशेष प्याकेजका रुपमा जानुपर्छ भन्ने नीति बनाइएको छ, विषयगत समिति निर्माण गर्ने र गणित, अंग्रेजी शिक्षकको समिति बनाउने काम भएको छ ।’
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँछन् । विद्यालय सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनको भनाई छ । ‘बैजनाथभरी रहेका बिद्यालयहरुको रंग, रोगन गरेर एकरुपता ल्याएका छौं, फुल, बगैचा कार्यक्रम गरेका छौं, सौन्दर्यकरण बढाईरहेका छौं, शिक्षक मिलान कार्यक्रम गरेका छौं, प्रत्येक बिद्यालयमा स्थायी दरबन्दीमा रहनु भएका शिक्षक प्रधानाध्यापक हुनु भएको छ, गुणस्तरिय शिक्षा र प्रशासकीय कुरामा जोड दिनका लागि हामीले यो काम गरेका हौं,’ अध्यक्ष शाहीले भने, ‘जसले शिक्षक सेवा आयोग पास गरेर आउनु भएको छ, उहाँलाई नै प्रअको जिम्मेवारी दिएपछि केही न केही गुणस्तरिय र प्रशासकीय कुरामा सुधार आउँछ भन्ने लक्ष्य लिएर ७ सय ५३ वटा स्थानीय तहमध्ये बैजनाथ गाउँपालिकाले यो काम गर्न सफल भएको छ, यसको लागि शिक्षा शाखाका कर्मचारीहरु र गाउँ शिक्षा समिति, यहाँका सबै राजनीतिक दललाई धन्यवाद दिन चाहन्छु ।’
बैजनाथलाई शैक्षिक हव बनाउनुपर्छ भनेर सबै लागेर सफलता पाएको उनी बताउँछन् । ‘शिक्षामा छात्रवृत्तिको काम गरेका छौं, कुनैपनि बिद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था गरेका छौं, पोशाक, झोलासहित आवश्यक कुराहरु दिएका छौं, शिक्षक बैंकको स्थापना गरेर स्वयं सेवक शिक्षक छनोट गरेका छौं,’ उनले अगाडी थपे, ‘प्रत्येक बिद्यालयमा जुन-जुन बिद्यालयमा अहिले खाली छ, त्यो बिद्यालयमा हामीले शिक्षक पनि पठाईसकेका छौं, हामीले शिक्षाको माध्यमबाट विकास सम्भव छ भनेर शिक्षामा लगानी गरिरहेका छौं ।’ कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भुमिसरा रानाले गुणस्तरिय शिक्षा र शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न गतिविधि गरेको बताइन् ।