नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जले पर्यटक घुम्नका लागि आवश्यक पर्ने संरचना तयार गरेको छ । पर्यटकलाई लक्षित गरेर विभिन्न स्थानमा सफारी गर्नका लागि, वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले निकुञ्ज स्थापना गरेको थियो ।
बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापनाका क्रममा ४ वटामा सिमित रहेको पाटेबाघ अहिले २१ वटामा पुगेको छ । अहिले त्यो संख्या पनि बढेको अनुमान गरिन्छ । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयारी अवस्थामा रहेको प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।
‘निकुञ्जभित्र आवश्यक पुर्वाधार तयार भएका छन्, अब निकुञ्जको ब्राण्डिङ र यसको प्रचार प्रसार आवश्यक रहेको छ,’ पर्यटन क्षेत्रका सरोकारवालासँग उनले भने ‘पर्यटकलाई कसरी ल्याउने भन्नेमा विभिन्न सरोकारवाला सबै निकायसँगको सहकार्यमा पर्यटनको सञ्जालभित्र हामी कसरी निकुञ्जलाई कसरी आवद्ध गराउन सक्छौं, हामीलाई मार्ग निर्देशित होस् ।’
निकुञ्ज अब पर्यटक आउने पर्खाइँमा रहेको उनी बताउँछन् । निकुञ्ज संरक्षणको क्षेत्रमा काम गरिरहँदा पर्यटकलाई पनि भित्र्याउन आवश्यक रहेको प्रमुख संरक्षण अधिकृत शाहले सुनाए । निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्ज र कोहलपुरमा गरी आधा दर्जनबढी तारे होटल तथा निकुञ्ज छेउछाउमा होमस्टे सञ्चालनमा आईसकेका छन् । निकुञ्ज घुम्न लायक अवस्थाको भएपनि कोरोना भाईरस(कोभिड–१९) महामारीका कारण पर्यटन लक्षित गतिविधी तथा कार्यक्रम प्रभावित भएका छन् ।
जिल्लाको सिंगो पर्यटन क्षेत्र थला परेकै बेला निकुञ्ज पनि प्रभावित भएको हो । राष्ट्रिय प्रकृती संरक्षण कोष डा. रविन कडरियाले बाँके राष्ट्रिय निकुञ्जको विशेषता नै पाटेबाघ रहेको भन्दै प्रायःजसो पर्यटकले बाघ हेर्न रुची राख्ने गरेको बताए । ‘बाघबाट पर्यटन क्षेत्रले प्रत्यक्ष रुपमा फाईदा लिन्छ, जहाँ बाघलाई लगानी गरिएको छ, त्यहाँ छाटो समयमै प्रतिफल पाइन्छ,’ उनले भने ‘बर्दिया राष्टिय निकुञ्जमा बाघको संख्या बढेसँगै पर्यटकको संख्या बढेको हो, बाघ हेर्ने रुची भएका पर्यटक धेरै छन् ।’
नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीले नेपालमा आउने अधिकांश पर्यटक चिन र भारतका भएकाले उनीहरुलाई लक्षित गरेर बाँके निकुञ्जमा पर्यटन प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । ‘घुम्न आउने पर्यटकलाई दुःख र झण्झट भन्दा आनन्दको महसुस गराउन सक्नुपर्ने उनको भनाई छ ।
पर्यटकका लागि आवश्यक सेवा सुविधा बढाउनुपर्ने, उनीहरुको आवश्यक्ता, सुरक्षा लगायतमा ध्यान दिन जरुरी रहेको बोर्डका सिईओ रेग्मी बताउँछन् । ‘हामीले पर्यटकीय गन्तब्य बनाईराखेका छौं, तर पर्यटकलाई भित्र्याउँदा सोचाई अलि फराकिलो बनाउनुपर्ने हुन्छ,’ उनले भने ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले बाँके राष्ट्रियमा पर्यटक भित्र्याउनका लागि छेउछाउमा रहेका अन्य पर्यटकीय गन्तब्यलाई पनि अगाडी बढाउनुपर्ने सुझाव दिए । ‘बाँके राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने हो भने अन्य पर्यटकीय गन्तब्यलाई पनि अगाडी बढाउनुपर्छ, यहाँका प्रशिद्ध धार्मिक स्थल, र्याफ्टिङ जस्ता कुरालाई पनि सँगसँगै जोड्न आवश्यक छ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्सेर राणाले पर्यटनको गन्तब्य नेपालगन्जलाई बनाउन आफुहरु पहिलेदेखी लाग्दै आएको र केही सफल पनि भएको बताए । तर, पर्यटन प्रर्वद्धनका लागि सरकारको ब्यवहार र नीति नै खराब रहेको उनको भनाई छ । ‘नेपालगन्जमा भारतीय पर्यटक बढी आउने सम्भावना छ, तर पर्यटक आउने वातावरण नै छैन,’ पर्यटन ब्यवसायी समेत रहेका डा. राणाले भने ‘घुम्न आउने पर्यटकले सिमाबाटै सास्ती खेप्नुपर्ने स्थिती छ, बोर्डर पार गर्न उनीहरुलाई तीन घण्टा लाग्छ, अनि कसरी आउँछन् यहाँ घुम्न ?’
मेयर राणाले भनेजस्तै नेपालगन्जका अधिकांस पर्यटन ब्यवसायीको गुनासो पनि सरकारसँगै छ । घुम्न आउने पर्यटकलाई प्रहरी प्रशासनले दुःख दिने, राती १० बज्ने वित्तिकै होटल बन्द गर्न लगाउने, सरकारले पर्यटन ब्यवसायीलाई सेवा सुविधा केही नदिने जस्ता गुनासो गरेका छन् ।
पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बाँके राष्ट्रिय निकुञ्जलाई राष्ट्रि तथा अन्र्तराष्ट्रिय रुपमा चिनाउन आफुहरु अब लाग्ने बताउँछन् । ‘निकुञ्जभित्र आवश्यक संरचना निर्माण भईसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघ लगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आब्हान गर्दछौं,’ श्रेष्ठले भने ।
निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपाने पर्यापर्यटनलाई लक्षित गरेर निकुञ्ज प्रशासन अगाडी बढेको बताउँछन् । उनले भने, ‘हामीसँग पर्यापर्यटनसम्बन्धी गतिविधी भईरहेका छन्, हात्ती सफारी, जिप सफारी जस्ता सेवा सुबिधा हामी दिईरहेका छौं, बाँके निकुञ्जलाई अब ब्राण्डको रुपमा अगाडी बढाउनुपर्छ ।’