नेपालगन्ज : लुम्बिनी प्रदेशमा सर्पले टोकेका बिरामीलाई दिइने ‘एन्टी स्नेक भेनम’ भ्याक्सिन अभाव देखिएको छ । लुम्बिनीका अधिकांस अस्पतालहरुमा उक्त भ्याक्सिनको अभाव भएको हो । विज्ञका अनुसार चैत महिनादेखी असोजसम्म तराईका जिल्लामा विषालु सर्पको बढी विगविग हुन्छ ।
भ्याक्सिनको अभाव देखिएपछि लुम्बिनी प्रदेशका अस्पतालमा समस्या भइरहेको छ । कतिपय अस्पतालले भ्याक्सिन मागेर समेत काम चलाईरहेको बताएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले ‘एन्टी स्नेक भेनम’ भ्याक्सिनको अभाव सिर्जना भएको स्वीकार गरिन् । ‘एन्टी स्नेक भेनम भ्याक्सिनको अभाव छ, यताउताबाट ल्याएर काम चलाईरहेका छौं,’ श्रेष्ठले भनिन्, ‘सर्पका बिरामीको संख्या बढ्यो भने थप समस्या पर्न सक्छ ।’
प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र बुटवलका निर्देशक डा. राजेन्द्रकुमार गिरीले एन्टी स्नेक भेनम भ्याक्सिनको अभाव माथी (संघिय सरकार) बाटै भएको बताए । ‘भ्याक्सिनको अभाव बढ्दै गएको छ, यही स्थिती रहने हो भने झन् गाह्रो पर्ने अवस्था छ,’ उनले भने, ‘यो सर्प बढी देखा पर्ने समय पनि हो ।’ सर्प कम देखापर्ने पहाडी क्षेत्रका जिल्लाबाट संकलन गरेर ५० भाइल ल्याएर अस्पतालहरुमा पठाइएको डा. गिरीले बताए ।
निर्देशक डा. गिरीका अनुसार केन्द्रले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा मध्ये सर्प दंश सम्बन्धी उपचार हुने २२ देखी २५ वटा अस्पतालमा उक्त भ्याक्सिन पठाउँछ । भ्याक्सिनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोटा निर्धारण गर्छ ।
लुम्बिनी प्रदेशका लागि ७ हजार २ सय ४२ भाइल कोटा रहेको छ । यसअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई १ हजार ८ सय भाइल, गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रलाई ७ सय, भेरी अस्पताललाई ६ सय ५० भाइल कोटा निर्धारण गरिएको छ ।
अन्य जिल्लामा रहेका अस्पतालमा पनि बिरामीको चाप अनुसार कोटा निर्धारण गरिएको केन्द्रले जनाएको छ । संघिय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले हरेक वर्ष टेण्डर प्रक्रियामार्फत भ्याक्सिन खरिद गर्दै आएको छ । अबको एक साताभित्र भ्याक्सिन आपुर्ती नभए समस्या विकराल बन्ने खतरा रहेको निर्देशक डा. गिरी बताउँछन् ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले भ्याक्सिनको अभाव सिर्जना हुने देखिएपछि आफुहरुले पहिल्यै सावधानी अपनाएको बताए । ‘विगतको अनुभव अनुसार हामीले पहिल्यै भ्याक्सिन संकलन गरेर राख्यौं, त्यसकारण हामीले चरम अभाव खेप्नु परेन, अहिले भ्याक्सिन पर्याप्त नभएको अवस्था चाही छ,’ उनले भने, ‘भेरीमा उपचारका लागि आउने बिरामीलाई फर्काउनु परेको छैन, तर भ्याक्सिनको स्टक धेरै छैन ।’ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालमा ५ सय ५५ भाइल खपत भएको थियो । चालु आर्थिक वर्ष २०८३/०८४ को हालसम्म ४ सय ९० भाइल आईसकेको उनले बताए ।
सर्पले टोकेका बिरामीको उपचार गर्दै आएका भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डेका अनुसार एक जना बिरामीलाई अवस्था हेरेर अधिकतम १० भाइल सम्म भ्याक्सिन दिनुपर्छ । विगत एक महिनादेखी भ्याक्सिनको अभाव सिर्जना बढेको उनी बताउँछन् । भ्याक्सिन अभाव भएपछि बाहिरका अस्पतालबाट ल्याएर काम चलाइएको डा. पाण्डेले स्मरण गरे । ‘अहिले त्यति वर्षा भएको छैन, वर्षा हुने वित्तिकै सर्पको बढी विगविगी हुन्छ, सर्पले टोकेका बिरामीको संख्या ह्वात्तै बढेपछि भ्याक्सिन पुर्याउन गाह्रो हुन्छ,’ उनले भने ।