पश्चिम नेपालको एक मात्र ठुलो क्षमताको सरकारी अस्पताल हो, भेरी अस्पताल । यस अस्पतालमा पछिल्लो समय केही सुधारका प्रयास भएका छन् । तर, अझैपनि अस्पतालभित्र ब्यथिती नै रहेको सेवाग्राहीको गुनासो छ । यसबीचमै अस्पताल विकास समिति परिवर्तन भएको छ । स्वास्थ्य मन्त्रालयले हालै समितिको अध्यक्षमा नेपालगन्ज युवा राजनीतिज्ञ एवम् समाजसेवी बीरेन्द्र शाहलाई मनोनित गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष यिनै शाहसँग दूरसञ्चार डटकमका लागि गरिएको संवाद :-
बीरेन्द्र शाह
अध्यक्ष, भेरी अस्पताल विकास समिति
अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि गर्नुपर्ने मुख्य कामहरु के-के देख्नु भएको छ ?
भेरी अस्पतालमा अहिलेसम्मको परिस्थिती हेर्दाखेरी कर्मचारी ब्यवस्थापन र सेवाग्राहीको सुविधाहरुको कुरा लगायत भौतिक पुर्वाधार, विशेषज्ञ सेवा सुविधाहरुको पनि आवश्यकता देखिएकोले यि सबै कुरा समग्र रुपले गर्नुपर्ने देखेको छु ।
अस्पताललाई सुधार गर्नका लागि कस्ले, के गरिदिनु पर्ला ?
यसमा सर्बप्रथम त विकृति र सुधारका लागि सबैभन्दा पहिला प्रमुख जिम्मेवार त अस्पताल विकास समिति नै हुन्छ । हामीहरुले केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर र स्थानीय प्रशासनसँग बसेर भएका विकृतिहरु, विकासका कुराहरुमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य प्राविधिक कुरामा अस्पताल प्रशासनसँग बसेर, छलफल गरेर विकास समितिले यसको समाधान गर्छौ ।
आम नागरिकको सहज पहुँचको लागि अस्पतालमा सुधार्नुपर्ने कुरा के-के देख्नु भएको छ ?
संबिधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा राखिएको छ । हाम्रो धेरै मापदण्डहरु पनि छन् । स्वास्थ्य सम्बन्धि केही कुरा निःशुल्क पनि छन् । केही सःशुल्क पनि छन् । अब ब्यवस्थापनको कमजोरी हुन सक्छ । केही कमजोरी छ, जस्तो पनि लाग्छ मलाई ।
यो सबैमा ब्यवस्थापन राम्रोसँग गर्न सकियो र समन्वयकारी भुमिका निर्वाह गर्न सकियो भने सुधार्न सकिन्छ । हाम्रो देशका धेरै जनता नै गरिबीको रेखामुनि छन् । हामीले तिनीहरुलाई नै मध्यनजर राखेर उहाँहरुलाई निःशुल्क हुन सक्छ कि अथवा कति सम्मको सशुल्क लिएर त्यसलाई चाही सही तरिकाले उहाँहरुलाई सुविधा दिन सक्यौं र ब्यवस्थापन गर्न सक्यौं भने जनतामा स्वास्थ्य सम्बन्धि पहुँच पुर्याउन सक्छौं ।
कोभिड कालमा ठुलो संख्यामा भर्ना भएका कर्मचारीका कारण अहिले अस्पतालको आर्थिक भार बढेको कुरा सुनिन्छ, यसलाई कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
म भर्खरै अध्यक्षमा मनोनयन भएको छु । यो कुरा मैले पनि सुनेको छु । कोभिडको समयमा संघीय सरकारको समन्वयमा नै कर्मचारी नियुक्त गरिएको रहेछ । यर्थात कुरा के हो ? हामी यसलाई बुझ्छौं । कसरी ब्यवस्थापन गर्न सकिन्छ, आन्तरिक छलफल गरेर नै यसको कसरी उपयुक्त ब्यवस्थापन गर्न सकिन्छ, त्यसमा हामी निर्णय गर्छौ ।
अस्पतालको नयाँ भवनको काम अझै पुरा भएको देखिदैन । केही कामहरु अहिले पनि चलिरहेको देखिन्छ । यस्तो अवस्थामा कसरी सेवा दिइरहनु भएको छ ?
अस्पतालको इमरजेन्सी सेवा नयाँ भवनबाट सुरु भएको रहेछ । हामीहरुले पनि हेर्दाखेरी भवन पूर्ण रुपमा सम्पन्न भएर हस्तान्तरण नगरेको अवस्था छ । अन्य सेवाका लागि वार्डहरु अहिले पनि तयार भएका छैनन् । मेरो आफ्नो ब्यक्ती कुरा भन्दाखेरी सबै पूर्ण रुपले सम्पन्न भएपछि हस्तान्तरण गरेर नै अस्पताललाई हस्तान्तरण गरेर काम अगाडी बढाउनुपर्ने हो । म आईसकेपछि केही छलफल गरेर सही तरिकाले अगाडी बढाउँछौं ।
अब अन्त्यमा, तपाईले पदभार ग्रहण गरिसक्नु भएको छ । अब यस अस्पतालमा जनताले बाहिरबाट देख्ने खालको काम गर्न कति महिना लाग्छ ?
हाम्रो कार्यकाल तीन वर्षको हुन्छ । आजको स्थितीमा जुन छ । भेरी अस्पताल, त्यो भन्दा राम्रो गर्व गर्ने काम हामीले पक्कै गर्छौ । ठ्याक्कै अहिले नै यति महिना भनेर भन्न सक्दैनौं । हामीले तीन महिनापछि केही न केही नयाँ काम, नयाँ ब्यवस्थापनका कुरा, सेवा ब्यवस्थापनका कुरालाई अगाडी बढाउँछौं ।