नेपालगन्ज : दोस्रो पटक प्रधानमन्त्री भएको बेला सुबिधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको अगुवाइमा ६९ जना सांसदहरुले अविश्वासको प्रस्ताव राखेपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पदबाट राजिनामा गर्न बाध्य हुनुपर्यो ।
तत्कालिन प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै भट्टराईले भन्नुभयो, ‘सम्भत प्रधानमन्त्रीको हैसियतले यो मेरो अन्तिम सम्बोधन हुनेछ, मेरो ध्यय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होईन, तर (२०५६) आम चुनावमा भावी प्रधानमन्त्रीको रुपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठुलो नैतिक बन्धनमा परेको छु ।'
कांग्रेस संसदीय दलको अंकगणित आफ्नो ठाउँमा छ । तर कांग्रेसलाई मतदान गर्नेे जनतालाई मैले के जवाफ दिने, यो नैतिक प्रश्नले मलाई चिन्तित बनाएको छ । यो अवस्थामा म निर्णायक उत्तरको खोजीमा छु । १५ मिनेट लामो बक्तब्यमा भट्टराईले अत्यन्तै भावुक मुद्रामा यो देशमा भलो गर्नेहरु कति जनाले भिमसेन थापाको नियति भोग्दै जाने भन्दा तत्कालिन मन्त्रीहरू, सांसद, विपक्षी दलका नेता र कर्मचारीहरुको आँखा रसाएका थिए ।
आज उनै निष्ठाको राजनीतिका अटल ब्याक्तित्व नेपाली काँग्रेसका पुर्बसभापति (चौथो), पुर्बप्रधानमन्त्री, पहिलो सभामुख, नेपाली पत्रकारहरुको साझ मञ्च नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती हो ।
नेपाली सभ्यता, समाज विकास, राष्ट्रियता जागरण र लोकतान्त्रिक आन्दोलनको इतिहासमा सन्तका रूपमा परिचित कृष्णप्रसाद भट्टराई एक अमिट नाम हो । यिनको जन्म इ.सं. १३ डिसेम्बर १९२४ अर्थात् वि.सं.१९८१ पुष ८ गते भारतको वनारसमा भएको थियो । यिनका बाजेलाई राणाहरूले देश निकाला गरेका थिए र यिनका बाजे भारतको वाराणसीमा पुरेत काम गरेर आफ्ना परिवार पाल्ने गर्दथे ।
यिनी जब स्कुल पढ्न थाले त्यसबेला यिनको बाल मस्तिष्कमा आन्दोलन र क्रान्तिको छाप पर्यो । सन्त नेता भट्टराई पढाउने शिक्षकले अंग्रेज साम्राज्यवाद विरूद्ध संघर्ष गर्दा गर्दै अंग्रेज सरकारले फाँसीको सजाय दिएका भगत सिंहको जीवन शिक्षकले सुनाएपछि, मलाई र मेरो बाल मस्तिष्कमा ठूलो छाप पर्यो र भारतीय उपमहाद्विप बाटै अंग्रेज साम्राज्यवादलाई लखेट्नु पर्दछ भन्ने मनमा छाप बस्यो र उनी बिद्रोही भएर निस्केँ । यिनले हाईस्कुलको अवस्था देखि नै भारतीय स्वतन्त्रता संग्राममा भाग लिए ।
कलेज जीवनमा पुगेपछि यिनको वि.पी.कोइरालासँग बनारसमा भेट भयो र नेपालबाट अंग्रेजको समर्थनमा रहेको सामन्ती पारिवारिक जहाँनिया राणा शासन समेत अन्त्य गर्नु पर्दछ भन्ने निस्कर्षमा यिनी पुगे । नेपाली राष्ट्रिय काँग्रेसको स्थापनामा कृष्णप्रसादको अहम् भूमिका थियो ।
कलकत्तामा भएको राष्ट्रिय काँग्रेस स्थापना गर्ने पहिलो भेलाले यिनलाई महामन्त्री छान्यो । यिनले पार्टीभित्र हमेसा वि.पी. कोइरालाको लाइनलाई साथ दिए । वनारसमा बस्न बाध्य र पढ्दा त्यहीँका स्थानीय पत्रपत्रिकामा क्रान्ति र परिवर्तनमा आधारित भएर लेख लेख्ने र कविता लेख्ने समेत गर्दथे ।
यिनलाई पत्रकार बन्ने पनि ठूलो मन्सुवा थियो । यिनको पनि भारतीय स्वतन्त्रता संग्रामका नेताहरू महात्मा गान्धी, राममनोहर लोहिया, जयप्रकाश नारायणसँग सुमधुर सम्बन्ध थियो । नेपाली राष्ट्रिय काँग्रेसभित्र वि.पी. र डा. डिल्ली रमण रेग्मीको मतभेदमा यिनले वि.पी. लाई साथ दिँदै आए ।
नेपाली काँग्रेस र प्रजातन्त्र काँग्रेसको २००६ साल चैतमा भएको एकतामा यिनले खुलेर वि.पी.लाई सहयोग गरे । यी दुई पार्टीको एकतापछि बनेको नेपाली काँग्रेसको पनि महामन्त्रीमै छानिए । नेपाली काँग्रेसले २००७ सालमा सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो र त्यो संघर्षमा उदयपुर र सप्तरी क्षेत्रको जनसेनाको राजनैतिक कमिसार भएर यिनले राणा सरकार विरूद्धको सशस्त्र संघर्षमा त्यस क्षेत्रको नेतृत्व गरेका थिए ।
२००७ सालमा क्रान्ति जब अगाडी बढ्दै गयो, भारतीय संस्थापना र राणाले सम्झौता गराउन खोजे र दिल्लीमा भारतीय संस्थापनाको मध्यस्थतामा राणा–राजा–काँग्रेस बीच वार्ता भएर दिल्ली सम्झौता भयो । यसपछि वि.पी. सरकारमा गए ।
२००८ सालमा नेपालमा पहिलो पटक गोरखापत्र बाहेकको पत्रिका नेपाली काँग्रेसले प्रकाशन गर्ने निर्णय गर्यो र त्यस पत्रिकाको सम्पादन गर्ने जिम्मा यिनले पाए । नेपालमा पत्रकारहरूको सोही साल संगठन बन्यो र सो संगठनको संस्थापक अध्यक्ष यिनी भए । वि.पी. र मातृकाको मतभेदमा पनि यिनी वि.पी. पट्टी नै रहे ।
२०१५ सालको आम निर्वाचनमा यिनी आफ्नो पुख्र्यौली थलो गोरखाबाट चुनाव लडे, तर हारे । यिनले हारे पनि नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्यायो । यिनलाई वि.पी. कोइरालाले हारेपनि त्यसबेलाको प्रतिनिधी सभाको सभामुख बनाए ।
१८ महिनाको संसदको कार्यवाहीमा यिनले बडो कुशलतापूर्वक संसद सञ्चालन गरेका कुरा त्यसबेला संसदमा भएका सांसदहरूले बताउँदै आएको कुरा इतिहासमा छ । २०१७ सालमा राजा महेन्द्रले फौजी ‘कु’ द्वारा जनताले चुनेको संसद र प्रधानमन्त्री लगायत क्याविनेट धारा ५५ अनुसार संकटकाल लगाएर अपहरण गरेपछि वि.पी. र गणेशमानसँगै यिनलाई पनि गिरफ्तार गरियो र जेल हालियो ।
वि.पी. सँगै यिनलाई पनि सुन्दरीजल बन्दीगृहमै राखिएको थियो । २०२५ सालमा भारत र चीनको मतभेद भएर युद्ध भड्किएपछि प्रवासमा रहेर सशस्त्र संघर्ष गरेका सुवर्ण शम्सेरले उक्त सशस्त्र संघर्ष स्थगन गरे र राजासँग मेलमिलाप गर्ने बक्तव्य जारी गरे ।
त्यो बक्तव्यलाई मानेर वि.पी. र गणेशमान जेलबाट छुटे र पुनः भारत प्रवास गए तर यिनले राजाले प्रजातन्त्र अपहरण गरेकाले उनले जनता र संसदसँग माफी माग्दै प्रजातन्त्र पुर्नबहाली गर्नुपर्दछ भन्ने अड्डी जेलबाटै लिए र यिनी छुटेनन् । यिनी २०२९ सालसम्म वि.पी. भन्दा चार वर्ष बढी जेल बसे ।
नेपालको मधेशी समुदायलाई नेपाली सेनामा किन भर्ती गरिन्न ? भन्ने प्रश्नमा यिनले उल्टै भारतले बिहारीलाई भारतीय सेनामा किन भर्ना नगरेर नेपाली पहाडी र पञ्जावीलाई मात्र गर्छ ? भनेर प्रतिप्रश्न गर्दै तत्कालिन भारतका प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई समेत अप्ठेरोमा पारेर नेपालीपन र नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र देशभक्तिको अनुपम उदाहरण पेश गरेका थिए ।
२०२८ सालमा राजा महेन्द्रको मृत्यु भएपछि बीरेन्द्रको राज्यारोहण भयो । युवा राजा बीरेन्द्रले यिनलाई विनाशर्त रिहाई गरे । यिनी स्वदेशमै रहेर शान्तिपूर्ण संघर्ष गर्नु पर्दछ भन्ने बिचारमा अडिग रहे । वि.पी. सँग सशस्त्र संघर्षको विषयलाई लिएर मतभेद भयो । वि.पी.ले जेलबाट छुटेर राजाको निरंकुसता विरुद्ध प्रवासमा रहेर सशस्त्र संघर्षको सुत्रपात गरे । तर यिनले त्यो सशस्त्र संघर्षलाई समर्थन गरेनन् ।
यिनको विचार गान्धीको भारत छोडो आन्दोलनमा सत्याग्रह गरे जस्तै सत्याग्रह मात्र गर्नु पर्दछ भन्ने थियो । भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएपछि भारतमै वि.पी. माथि इन्दिराले नियन्त्रण गरिन् । यता राजा बीरेन्द्रले पुनः यिनलाई जेल हाले । जेलमा रहदा संगै जेल जीवन बिताएकाहरुको भनाइमा यिनी रसिक स्वभावका र जेलमा रहँदा पनि सबै कैदीसँग घुलमिल गर्ने बानी थियो ।
तत्कालिन अवस्थामा लोकतन्त्रको वहालीका संघर्षमा जेलमा जाने र आउने या त नेपाली काँग्रेस सम्बद्ध कार्यकर्ता हुन्थे भने नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल सम्बद्ध कार्यकर्ता मात्र हुन्थे । झापामा भएको कम्युनिष्ट पार्टीको एक फ्रयाक्सनले गरेको सशस्त्र खुकुरी युुद्धका बन्दीहरू पनि त्यसबेला आए र जेलमा यिनले यी वन्दीलाई पनि माया नै गर्थे ।
यिनमा लोकतन्त्रमा विपक्षको कदर गर्नुपर्दछ भन्ने राजनैतिक संस्कार परिपूर्ण थियो । कम्युनिष्ट पार्टीका विभिन्न समुहका कार्यकर्ता र नेतालाई यिनले सम्मान नै गर्थे । वि.पी. राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कने बेलामा वि.पी.ले यिनलाई पटना बोलाए र पटनामा सिमित कार्यकर्ताको भेला गरे र वि.पी.ले यिनलाई नेपाली काँग्रेसको कार्यबाहक अध्यक्ष दिए ।
२०३३ साल देखि २०४८ सालसम्म कृष्णप्रसाद नेपाली काँग्रेसको कार्यबाहक अध्यक्ष निरन्तर रहे । २०३५ र २०३६ को जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलन निर्माण र त्यसलाई सफलताको मञ्जिलमा पुर्याउन नेतृत्वदायी भूमिका खेल्नेमध्ये यिनी एक हुन् ।
यिनीमाथि गणेशमान सिंहले अगाध विश्वास राख्थे । २०४६ सालको जनआन्दोलनको सफलतापछि आफूमाथि आइपरेको प्रधानमन्त्रीको कार्यभार गणेशमान सिंहले यिनलाई सुम्पिए । यिनले पनि झण्डै डेढ वर्षको अवधिमा राजालाई संबैधानिक बनाएर २०४७ साल कार्तिक २३ गते संविधान जारी गर्न सफल रहे । यिनले २०४८ सालमा बैशाखमा शान्तिपूर्ण रूपमा आम निर्वाचन सम्पन्न गरे ।
आफुले हारेर पार्टीलाई भने बहुमत दिलाए । त्यो निर्वाचनमा आफ्ना महामन्त्री गिरिजालाई प्रधानमन्त्री बनाएर बाहिर आए । तर हार पश्चात यिनको पार्टीमा अन्तरविरोध शत्रुतापूर्ण रूपमा चुलियो । यिनले सत्ता सुम्पिएको यिनका साथी गिरिजा प्रसादले तिन वर्षमै संसद विघटन गरेर आमचुनावमा गए । यसअघि यिनलाई पार्टीले उपचुनावमा होम्यो तर त्यो चुनावमा पनि यिनी हारे ।
२०४८ सालमा भएको पार्टीको कलबलगुढी महाधिवेसनबाट यिनी पार्टीको पूर्ण अध्यक्ष चुनिएका थिए । २०५१ सालमा भएको मध्यावधि चुनावमा यिनलाई प्रधानमन्त्री बनाउने नेता गणेशमान सिंहले नेपाली काँग्रेस त्याग गरी सकेका थिए । यिनको दोधारे चरित्रले पार्टी त टुक्रिएन तर, चुनावमा दोस्रो ठूलो दल मात्र भयो ।
पछि २०५६ सालमा यिनलाई प्रधानमन्त्री प्रस्ताव गरेर काँग्रेस चुनावमा लाग्यो र पुनः बहुमत ल्यायो । यसपछि भने यी निर्वाचित प्रधानमन्त्री भए । तर, १० महिनासम्म पनि यिनलाई टिक्न दिइएन र संसदमा भिमसेन थापापछि आफूमाथि अपमान भएको भन्दै मार्मिक भाषण गरेर प्रधानमन्त्रीको पद त्याग गरे ।
२०५८ सालमा राजा बीरेन्द्रको सपरिवार हत्या भयो । नयाँ राजा ज्ञानेन्द्र आए र उनले निर्वाचित प्रधानमन्त्री बरखास्त गरी शक्ति हातमा लिए । अझ माघ १९ मा त मन्त्रिपरिषदको अध्यक्ष आफै भए । यसको बिरोधमा सबै पार्टी मिलेर संघर्ष गर्ने र त्यो संघर्र्षको नेतृत्व गर्ने सबै दलले यिनलाई आग्रह गरे । तर यिनी त्यसलाई अस्वीकार गरेर संबैधानिक राजाको पक्षमा अडिग रहे । २०६२/०६३ को जनआन्दोलनमा यिनी निस्कृय बसे । २०६२÷०६३ को जनआन्दोलन सफल भएपछि भने यिनले आन्दोलनकारी दल र नेपाली जनतालाई बधाई दिँदै बक्तव्य निकाले ।
अझै पनि यिनी संवैधानिक राजा राख्नुपर्दछ भन्ने लविङ गर्दै थिए । संबिधान सभाको निर्वाचन भयो । यो निर्वाचनमा माओवादी पहिलो शक्ति, नेपाली काँग्रेस दोस्रो शक्ति र एमाले तेस्रो शक्ति र मधेशवादी दल चौथो शक्तिका रूपमा आए । सर्वसम्मत रूपमा संबिधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। यो घोषणा पश्चात यिनले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरे, तर कांग्रेसले भने यिनलाई त्याग्न सकेको छैन ।
नेपाली सभ्यता , लोकतान्त्रिक आन्दोलन र जनअधिकार वहालीको आन्दोलनमा यिनको चर्चा नगरी इतिहासलाई मूल्यांकन गर्न सकिन्न । यिनी नेपालीपना र देशभक्तिको मामलामा भने अरूभन्दा अगाडि नै थिए । राजाको पालामा भएको भारतसँगको खराब सम्बन्धलाई यिनी प्रधानमन्त्री भएपछि सुधारे । यिनकै पालामा भारतसँग बराबरका आधारमा व्यापार तथा वाणिज्य सन्धि भयो ।
नेपालको मधेशी समुदायलाई नेपाली सेनामा किन भर्ती गरिन्न भन्ने प्रश्नमा यिनले उल्टै भारतले विहारीलाई भारतीय सेनामा किन भर्ना नगरेर नेपाली पहाडी र पञ्जावीलाई मात्र गर्छ ? भनेर प्रतिप्रश्न गर्दै तत्कालीन भारतका प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई समेत अप्ठेरोमा पारेर नेपालीपन र नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र देशभक्तिको अनुपम उदाहरण पेश गरेका थिए ।
यिनले त्यसबेला स्वामी विवेकानन्द फाउण्डेसनले आयोजना गरेको भारत वर्षको सभ्यता सम्बन्धी गोष्ठीमा नेपाली सभ्यता भारतवर्षमा मात्र नभएर विश्वमै पुरानो हो भनेर रोचक प्रसंग उठाएका थिए । जे भएपनि नेपाली राष्ट्रिय जागरणको इतिहासमा यिनको चर्चा नगरी नेपाली सभ्यताको विकासको इतिहास पूरा हुन्न । गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे ।
यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने सन्त नेता भट्टराईको बौद्धिक शक्ति उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता पनि यिनमा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।
राजनीतिमा नैतिकता, निष्ठा भन्ने शब्दको सबैभन्दा महत्वपूर्ण स्थान हुन्छ भन्ने मान्यता राख्ने उच्च तहको नेताका रुपमा आफुलाइ दर्जन राख्न सफल नेता भट्टराईले नैतिकता र निष्ठाको कसिमा सधै आफुलाइ सतिसालझै अडिग राखे १ आज देशको समकालीन राजनितीले नैतिकतालाई मृत्यु सैयामा पुर्यायको छ भने सत्ता र पदका लागि बिचार र सैधान्तिक निष्ठा लाई बलिचढाउन पनि समकालिन नेतृत्व लज्जास्पद ढंगले पछि नपरिरहेको अवस्था छ ।
यति बेला नेपाली कांग्रेसले आफ्न पुर्बसभापति, पुर्बप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्म जयन्ती देशैभरी मनाइने रहेको छ । विचार अनि सिद्धान्तको घाँटी रेटेर सत्ता भोगको अभियानमा जुटेको काँग्रेसले बिचार, निष्ठा अनि नैतिकताको अबिचलित यात्राका प्रतिमुर्ति स्वर्गबासी नेता भट्टराईको जन्मजनयती मनाउनुको त्यति तात्विक अर्थ देखिदैन ।
साँच्चिकै उहाँप्रति सम्मान गर्ने हो भने उहाँले देखायको वैचारिक स्पष्ट अडान, सैद्धान्तिक निष्ठा, नैतिकता अनि त्यागको मार्ग दर्शन लाई अंगाल्न सक्नु पर्दछ अनि मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।आज उहाँको जन्मदिनले बाटो बिराएका उहाँका चेलाहरु विशेष रुपमा नेतृत्व तहमा छन् । उनीहरुको सतबुद्धी आओस् ।
देशमा आम नागरिकले परिवर्तनको अनुभुती गर्नसक्ने स्थिती सृजना होस् । ब्यवस्था मात्र होईन साँच्चिकै सन्त नेता भट्टराईले देखेको सपना अनुसार आमजनताको जीवन स्तरमा रुपान्तरण गर्ने इच्छा शक्ति जागोस् । त्यसका लागि देशको अवस्था बदल्न जरुरी छ ।
श्रद्धय सन्त नेताप्रति भावपुर्ण श्रद्धाञ्जली !